सी जिन्पिङलाई एन्भिडिआमा जेन्सन वाङ पुनरागमनको सन्देश के हो

तस्बिर स्रोत, Reuters
- Author, लोरा विकर
- Role, चीन संवाददाता
- Published
- पढ्ने समय: ४ मिनेट
एन्भिडिआका प्रमुख कार्यकारी अधिकृतमा जेन्सन वाङको पुनर्बहालीले चीनसहित विश्वको ध्यान खिचेको छ। चीनको सबैभन्दा ठूलो सामाजिक सञ्जाल वेबोमा त यो बहस 'टप ट्रेन्डिङ' विषय नै बन्यो।
आफूले चीनलाई माया गर्ने बताएका प्रभावशाली अर्बपति एन्भिडिआमा फर्किँदा वेबोका अधिकांश खुसी देखिएका छन्। गत मे महिनामा चीन पुगेका बेला उनले चाउचाउ र दूध चिया पिइरहेको भिडिओ अनलाइनमा देखापरेको थियो।
कतिपयले उनले सधैँजसो लगाउने गरेको छालाको ज्याकेट एन्भिडिआको कार्यालयमा फर्कँदा किन लगाएनन् भनेर जिज्ञासा समेत व्यक्त गरिरहेका छन्। तर वाङको पुनर्बहालीलाई धेरैले निर्णय सच्याइएको अहिलेसम्मकै महत्त्वपूर्ण घटना भन्दै त्यसले चिनियाँ संलग्नताको आरोपबाट सफाइसँग समेत जोडेर अर्थ लगाइरहेका छन्।
चिनियाँ राष्ट्रपति सी जिन्पिङको हेराइ पनि सम्भवतः त्यही हुन सक्छ।
बेइजिङले वाङसँग प्रेम सम्बन्धमा रहेकी महिला चिनियाँ जासुस रहेको आरोप खण्डन गर्दै आएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले चिनियाँ जासुससँग वाङको सम्बन्ध रहेको विषयलाई चीनको छविमा दाग लगाउने वाशिङ्टनका चीन विरोधीहरूले चलाएको अभियान भनेका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले यसलाई "बोक्सीको आरोपमा सताउने काम"सँग तुलना गरेको थियो।
अहिले ह्वाइट हाउस र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आफैँले पनि वाङले राष्ट्रिय सुरक्षामा कुनै खतरा नपुर्याएको बताएका छन्। यद्यपि सन्दिग्ध जासुससँग उनको सम्बन्ध रहेको विषयमा अनुसन्धान भइरहेको अमेरिकाले बताएको छ।
चिनियाँ राष्ट्रपति सीले चाहिँ यो प्रकरणबाट धेरै पाठ सिकेका हुन सक्छन्। के गर्दा ट्रम्पलाई दबाव पुग्छ भन्ने विषय उनको मुख्य सिकाइ हुन सक्छ।
ट्रम्प-सी भेटपछिको पुनर्नियुक्ति

तस्बिर स्रोत, Reuters
चीनको शन्जनमा गत साता भएको ट्रम्प र सीबीचको वार्तालगत्तै वाङको पुनर्नियुक्ति भएको घटनाक्रमलाई प्रत्यक्ष भेटवार्ताबाट वाशिङ्टनलाई प्रभावित गर्न सकिन्छ भन्ने सङ्केतका रूपमा कतिपयले हेरेका छन्।
सीसँगको भेटमा वाङबारे पनि कुरा भएको ट्रम्पले बताएका छन्। तर उनले त्यसबारे विस्तृतमा बताएका छैनन्। बेजिङले पनि त्यस विषयमा विस्तृतमा बताएको छैन।
यो प्रकरणले वाशिङ्टनमा दुई खेमा छन् भन्ने चिनियाँहरूबीचको बुझाइलाई पनि फेरि एक पटक उजागर गरिदिएको छ। त्यो भनेको अमेरिकी राष्ट्रिय सुरक्षाका लागि अत्याधुनिक प्रविधिमा चिनियाँ पहुँच रोक्नुपर्छ भन्ने पक्षको खेमा र यस्ता प्रतिबन्धले चिनियाँ महत्त्वाकाङ्क्षालाई रोक्न सक्दैन भन्ने वाङ जस्ता व्यक्तिहरूको खेमा।
वाङले प्रविधिको निर्यातमा नियन्त्रण अमेरिकी उपायहरूले हुवावे जस्ता चिनियाँ कम्पनीहरूलाई आफ्नै वैकल्पिक सञ्जालको विकास गर्न बाध्य बनाउने तर्क गर्दै आएका छन्। यसो गर्दा अमेरिकी कम्पनीहरू विश्वको दोस्रो ठूलो अर्थतन्त्रको बजारबाट बाहिर धकेलिने उनको तर्क छ।
चिप्स प्रयोगमा कडाइ गर्दै अमेरिका

तस्बिर स्रोत, Getty Images
एन्भिडिआको नेतृत्वमा उनी फर्किनुले बेइजिङका लागि राहत मिल्ने कुनै सुनिश्चितता भने गर्दैन।
बरु उन्नत चिपको बिक्री अमेरिका र चीनबीचको प्रमुख विवादको विषयका रूपमा कायम रहने देखिन्छ। विशेष गरी दुवै पक्षले डिसेम्बरमा हुने अपेक्षा गरिएको अर्को ट्रम्प-सी बैठकअघि व्यापार सम्झौतामा सहमति जुटाउने प्रयास गरिरहेका बेला यो विषय अझ संवेदनशील बन्न सक्छ। अनि अमेरिकामा अहिल्यैबाट नयाँ नियमहरू लागू गर्न थालिएको छ र यी नियमले बेइजिङलाई चिन्तित बनाउन सक्छ।
अमेरिकी उद्योग तथा सुरक्षा ब्यूरोले चीनतर्फ अत्याधुनिक चिपको प्रत्यक्ष निर्यात मात्र नभई विदेशमा रहेका डेटा सेन्टरबाट कम्प्युटिङ शक्ति प्रयोग गर्ने चिनियाँ कम्पनीहरूको क्षमतामाथि पनि नियन्त्रण गरिरहेको छ।
सिङ्गापुर, मलेशिया र थाईल्यान्डलगायत तेस्रो देशमा सञ्चालन भइरहेका क्लाउड सेवा प्रदायकमार्फत् एन्भिडिआ र एएमडीका अत्याधुनिक चिपमा चिनियाँ पहुँच रोक्न यस्ता उपायहरू अमेरिकाले लगाएको हो।
चीनले अहिलेसम्म आफ्ना तर्फबाट कुनै जबाफी कदम घोषणा गरेको छैन। तर अमेरिकी शेअर बजारमा नकारात्मक असर पार्न सक्ने तनावबारे लगानीकर्ताहरू चनाखो देखिएका छन्।
सीले थाहा पाएका हुन सक्छन् ट्रम्पका कमजोरी

तस्बिर स्रोत, Getty Images
ट्रम्प स्थिरता कायम राख्न कति इच्छुक छन् भन्ने देखिसकेपछि सी जिन्पिङले यसलाई दबाव सिर्जना गर्ने माध्यमका रूपमा लिन सक्ने छन्।
सीलाई शेअर बजारबारे ट्रम्प कति चिन्तित छन् र उनी विश्वकै सबैभन्दा ठूलो कम्पनीको मानव संसाधनसम्बन्धी निर्णयमा समेत हस्तक्षेप गर्न तयार छन् भन्ने अब थाहा भएको छ। राष्ट्रपतिले एन्भिडिआमा व्यक्तिगत लगानी पनि गरेका छन्। यद्यपि ह्वाइट हाउसले ट्रम्पले आफ्ना व्यवसायहरू उनका छोराहरूद्वारा व्यवस्थापन गरिने कोषमा राखिएको जनाएको छ।
चीनले व्यापारसम्बन्धी वार्तामा अमेरिकालाई सहभागी हुन बाध्य बनाउन यसअघि नै विश्वका रेअर अर्थ धातुमाथि रहेको आफ्नो बलियो पकडको प्रयोग गरिसकेको छ।
यदि वाशिङ्टनले चिप निर्यातमा थप प्रतिबन्ध लगायो र बेइजिङले त्यसको प्रतिवादका लागि फेरि त्यही अस्त्र अघि सार्न सक्छ। किनभने रेअर अर्थ निर्यातमा चीनले रोक लगायो भने त्यसको असर शेअर बजारमा गम्भीर रूपमा पर्न सक्छ। मोटरगाडी निर्माता कम्पनीदेखि रक्षा उद्योग र चिप उत्पादकसम्मका अमेरिकी कम्पनीहरू रेअर अर्थ धातुमा निर्भर छन्।
अमेरिकासँग आफूले भन्ने गरेको "रचनात्मक रणनीतिक सम्बन्ध" बनाउने क्रममा अझै धेरै चुनौतीहरू आउनसक्ने कुरा चीनले पनि बुझेको छ।
ट्रम्पका आयात शुल्कहरू अब यस विवादको मुख्य केन्द्रमा छैनन्। अब विवादको केन्द्र संवेदनशील प्रविधि र खनिज स्रोतमाथिको नियन्त्रण बनेको छ। किनभने त्यसले दुवै पक्षको सैन्य प्रभाव र आर्थिक सामर्थ्यमा असर पार्न सक्छ।
अब के हुन्छ भन्ने कुरा जेन्सन वाङ प्रकरण कसरी अघि बढ्छ भन्नेमा निर्भर देखिन्छ। किनभने यो प्रकरण सकिइसकेको छैन।
वाङले आगामी महिना कङ्ग्रेसको सामना गर्दै छन्। अमेरिकी संसद्मा आगामी ज्यानुअरीबाट डेमोक्र्याटिक पार्टीको नियन्त्रणमा रहने भएकाले कङ्ग्रेसले उनीमाथि थप दबाव बढाउने अपेक्षा गरिएको छ। केही रिपब्लिकन सांसदहरूले पनि यस विषयमा आफूहरूले स्पष्ट जबाफ चाहेको बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















