चौबीसै घण्टा काठमाण्डू खुल्दा कसलाई के फरक पर्छ?

काठमाण्डू
    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ४ मिनेट

सरकारले रेष्टुराँ-क्लबजस्ता रात्रिकालीन मनोरञ्जन व्यवसायभन्दा माथि उठेर सहरलाई चलायमान गराउन सकिने उद्देश्यसाथ पूरै काठमाण्डू जिल्ला चौबीसै घण्टा खुला गर्न सकिने क्षेत्रको रूपमा तयारी अगाडि बढाएको बताएको छ।

काठमाण्डू जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूले त्यसका लागि अहिले आफूहरू विभिन्न व्यावसायिक पक्षहरूसँग छलफलमा रहेको र कामहरू "रात्रिकालीन शिफ्ट" मा पनि अघि बढाउन सकिने गरी कुराकानी भइरहेको बीबीसीलाई बताएका छन्।

"यो बृहत् सोचका साथ उच्च तहमै सोचिएको विषय हो, विभिन्न पक्षसँग कुराकानी भइरहेका छन्," काठमाण्डूका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले भने। "रात्रिकालीन व्यवसाय मात्र होइन, जीवनशैलीको सोच राखिएको हो।"

हाल काठमाण्डू जिल्ला भित्रका दरबारमार्ग, ठमेलजस्ता क्षेत्रहरूलाई चौबीसै घण्टा खुल्ला गर्ने गरी यस अघि नै निर्णय भई उक्त क्षेत्र चौबीसै घण्टा खुल्ला हुन पाउने ठाउँका रूपमा छन्।

"दरबारमार्ग, ठमेलजस्तै थप केही ठाउँलाई विस्तार गर्न सकिन्छ। सबैतिर त सम्भव पनि छैन, आवश्यक पनि छैन," नेपाल उद्योग वाणिज्य सङ्घ काठमाण्डूका अध्यक्ष रामनाथ श्रेष्ठ भन्छन्।

"तत्काललाई यसबाट फाइदा हुने भनेको हस्पिटालिटी क्षेत्रलाई नै हो। सुरक्षा व्यवस्था कायम गर्न सहज हुने हिसाबले ठूला मलहरूले पनि त्यसको फाइदा उठाउन सक्छन्।"

मुख्य कुरा : सुरक्षा

जिल्ला प्रशासन कार्यालयले जारी गरेको एक विज्ञप्तिमा काठमाण्डू देशको सङ्घीय राजधानीसहित अत्यन्त महत्त्वपूर्ण स्थान भएको भन्दै पूरै जिल्लालाई नै भरपर्दो सुरक्षा प्रबन्धसहित खुला गर्न खोजिएको जनाएको छ।

जसका लागि आवश्यक पर्ने न्यूनतम पूर्वाधारहरूका रूपमा सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी, सडक बत्तिको पर्याप्त व्यवस्था समेतको तयारी गरिने जनाउँदै यतिखेर जिल्ला प्रशासन कार्यालयले सम्बद्ध तिनै पक्षसँग कुराकानी गरिरहेको जनाएको छ।

त्यस्तो सुरक्षाको विषय खास गरी यातायात, व्यवसाय, व्यापार, स्वास्थ्य क्षेत्र, आपूर्ति व्यवस्थासँग जोडिएको बताइएको छ।

काठमाण्डूको एक नाइट क्लब

उद्योग वाणिज्य सङ्घ काठमाण्डूका अध्यक्ष रामनाथ श्रेष्ठले काठमाण्डूका केन्द्रमा रहेका केही ठाउँबाहेक जिल्लाका बाह्य क्षेत्रमा त्यस्तो आवश्यकता नरहेको बताउँछन्।

"रात्रिकालीन जीवनका लागि परिचित ब्याङ्ककजस्ता सहरमा पनि सबैतिर रातभर बजार खुल्ने भन्ने हुँदैन। तोकिएका केही बजार वा स्ट्रीटहरू मात्र खुला हुने हुन्," श्रेष्ठ भन्छन्।

"त्यसमाथि रातिको कारोबार सीमित खुद्रा व्यापारका लागि मात्र हो। थोक कारोबारका लागि हुँदैन। न्यूरोड, बौद्धजस्ता क्षेत्रमा कहीँकतै त्यस्तो विस्तार हुन सक्छ।"

अधिकारीहरूले अहिलेलाई भने "बृहत् तयारी"को काम मात्र भइरहेको भन्दै त्यसका लागि कुनै मिति खुलाएका छैनन्। उनीहरूले "निकट भविष्यमा" त्यससम्बन्धी निर्णय गरिने जनाएका छन्।

जसले गर्दा हाललाई साबिकमा चौबीसै घण्टा खुल्ला गरिएका क्षेत्र बाहेकका अन्य स्थानका व्यवसायीहरूलाई अर्को सूचना नआउँदासम्म पूर्ववत् रूपमा तोकिएको समयसम्म मात्र व्यापार, व्यवसाय सञ्चालन गर्ने व्यवस्था गर्न पाउने छन्।

'दुई शिफ्ट'मा काम

अधिकारीहरू खानपान र मनोरञ्जन क्षेत्र मात्र नभएर सबै पक्षलाई लाभ पुग्ने गरी व्यवस्था गर्न खोजिएको बताउँछन्।

"भोलिका दिनमा सबै कुरा दुई शिफ्टमा हुन सक्ने परिस्थिति बन्न सक्छ," सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल भन्छन्।

भुसाल रातमा "काम नै गर्न सकिने माहोल बनाउने गरी मिहिन ढङ्गबाट कुराकानी भइरहेको" बताउँछन्।

"त्यसका लागि महिलाहरू पनि रातमा निर्धक्क हिँडडुल गर्न सक्ने सुरक्षित माहोल आवश्यक पर्छ। उज्याला बाटा घाटादेखि सहज यातायातका पक्ष यसमा महत्त्वपूर्ण छन्," उनी भन्छन्।

उद्योग वाणिज्य सङ्घ, काठमाण्डूका अध्यक्ष रामनाथ श्रेष्ठले अहिले नै व्यवसायीहरू यसलाई लिएर धेरै नै उत्साहित नभए तापनि सरकारले गर्ने व्यवस्थाका आधारमा बिस्तारै अग्रसरता लिन सक्ने बताउँछन्।

उनी भन्छन्: "व्यवसायीहरू स्वयंले निश्चित क्षेत्रमा विभिन्न सामान विक्रीका अग्रसरता लिन सक्छन्। त्यस्तो बेला सरकारले सुरक्षा व्यवस्था गर्न सक्यो भने त्यो बिस्तार हुँदै जान्छ। धेरै ठूला सहरमा कतै टिसर्टहरू, कतै झोलाहरू, कतै जुत्ताहरू मात्र विक्री हुने विशेषखाले सडक छेउका व्यापार गर्ने गरिएका हुन्छन्।"

जिल्ला प्रशासन कार्यालय, काठमाण्डू

त्यसैले सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले राति चल्ने गाडीमा अनिवार्य सीसीटीभी राख्नुपर्ने, अन्य तरिकाबाट सुरक्षा पहरा बढाउनुपर्ने जस्ता काम गरिने बताउँछन्।

"व्यापार व्यवसाय, उद्योग धन्दा, सेवा क्षेत्रजस्ता हरेक पक्षसँग छलफलका क्रममा हामीले उनीहरू रात्रिकालीन कामका लागि कति उत्सुक छन् भन्ने बुझिरहेका छौँ," सहायक प्रमुख जिल्ला अधिकारी भुसाल भन्छन्।

रात्रिकालीन कामसँग दिउसोको तुलनामा अतिरिक्त तलब-भत्ता जोडिनुपर्ने भएकाले त्यस पक्षमा समेत अहिले प्रारम्भिक कुराकानी थालिएको भुसाल बताउँछन्।

सरकारले चार वर्षअघि नै रात्रिकालीन व्यवसायलाई मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्नका इजाजत प्राप्त गरी सञ्चालनको लागि एउटा सूची तयार पारेको थियो।

सरकारका विभिन्न निकाय, विभिन्न ऐन, नियम, निर्देशिका, कार्यविधि, मापदण्ड र समय समयमा जारी भएका आदेश समेतको आधारमा व्यवसाय पूर्ण रूपमा सञ्चालन गर्न इजाजत दिने प्रयोजनको लागि तयार पारिएको उक्त चेकलिस्टमा अतिरिक्त समय काममा नलगाएको, सीसीटीभीको अनिवार्यता, ध्वनि नियन्त्रण, आन्तरिक सुरक्षा, कर्मचारी एवं सेवाग्राहीका अभिलेखसम्मको कुरा उल्लेख गरिएको थियो।

श्रम ऐन २०७४ मा श्रमिकलाई दिनमा ४ घण्टा र हप्तामा २४ घण्टाभन्दा बढी अतिरिक्त समय काममा लगाउन नपाइने व्यवस्था छ भने त्यसमै रातिको समयमा काम गर्ने महिला श्रमिकको सुरक्षा र सुविधाका लागि विशेष प्रावधान राखिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।