बोल्टको लगातार तेश्रो ओलिम्पिक स्वर्ण

तस्बिर स्रोत, Reuters
विश्व चर्चित जमैकन धावक युसेइन बोल्टले रियो ओलिम्पिक्समा १ सय मिटर दौडमा स्वर्ण पदक जितेका छन्।
उक्त विधामा उनको यो लगातार तेश्रो स्वर्ण पदक हो।
उपाधि जितेपछि प्रतिक्रिया दिँदै बोल्टले आफू खुशी भएको तर अझ तीव्र गतिमा दौडन चाहेको प्रतिक्रिया दिएका छन्।

तस्बिर स्रोत, AP
सन् २००८ को बेइजिङ ओलिम्पिक्समा विश्व कीर्तिमानसहित ९ दशमलव ६९ सेकेन्डमा दौड पूरा गरेका उनले लन्डन ओलिम्पिकमा ९ दशमलव ५८ सेकेन्ड खर्चिएर स्वर्ण पदक जितेका थिए।
‘भगवान’
रियो ओलिम्पिक्समा भने उनी पहिले भन्दा ढिलो अर्थात ९ दशमलव ८१ सकेन्डमा दौड पूरा गर्दा पनि उपाधि रक्षा गर्न सफल भए।
१०० मिटर दौडमा अमेरिकाकाका धावक जस्टिन ग्याटलीनले रजत पदक जितेका छन्।
पछिल्लो नतिजापछि बीबीसीका एथलेटिक्स टिप्पणीकार स्टिभ क्र्यामले भनेका छन् “यदि प्राचीन ग्रीक कालमा युसेन बोल्टले यो परिणाम दिलाएका भए उनी ओलम्पस पर्वतको चुचुरोमा पुग्ने थिए र उनलाई दौडको भगवान भनिने थियो।”

तस्बिर स्रोत, EPA
रियो ओलिम्पिक्सको पहिलो स्वर्ण पदक जित्ने क्रममा बोल्टले हालसम्मको आफ्नो ओलिम्पिक स्वर्ण पदक संख्यालाई सात पुर्याएका छन्।
रियो ओलिम्पिक्समा थप दुई स्वर्ण पदक जित्ने आफ्नो अभिलाषा रहेको उनले बताउँदै आएका छन्।
उनले २०० मिटर दौड र ४ × १०० मिटर दौडमा पनि लगातार तेश्रो स्वर्ण पदक जित्ने उद्देश्य रहेको र सन् २०१७ को विश्व च्याम्पियनसिपपछि एथलेटिक्सबाट सन्यास लिने बताएका छन्।




















