युक्रेनका सहयोगीहरूले सैन्य अभ्यास गरिरहँदा रुसी क्षेप्यास्त्र पोल्यान्डमा खसेको टुस्कको भनाइ

तस्बिर स्रोत, various sources / AFP via Getty Images
पोल्यान्डले शुक्रवार बिहान आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका तीन वस्तुहरू मध्ये एउटा रुसी क्रूज क्षेप्यास्त्र भएको जनाएको छ।
पोल्यान्डका प्रधानमन्त्री डोनल्ड टुस्कले त्यो दुर्घटना जस्तो नदेखिएको पनि बताएका छन्।
उनले पश्चिमी सैन्य शक्तिहरूले उक्त क्षेत्रमा सैन्य अभ्यास गरिरहेका बेला यो घटना भएको देखिएको बताए।
घटनामा कसैलाई चोट लागेको छैन र कुनै क्षतिको विवरण पनि आएको छैन।
तर पोल्यान्डले यसलाई रुसको 'उक्साउने काम' भनेको छ।
रुसले अहिलेसम्म यो घटनाबारे कुनै टिप्पणी गरेको छैन।
रुसले युक्रेनमा पूर्ण स्तरको आक्रमण थाले देखिको सबैभन्दा ठूलामा पर्ने एउटा हवाई हमला भएका बेला पछिल्लो घटना भएको छ।
रक्षामन्त्रीले के भने?
रक्षामन्त्री वादिसवाफ कोशिनियाक कामिसले केएच-१०१ क्षेप्यास्त्र युक्रेनको सीमाबाट ५० किलोमिटर दूरीमा पर्ने दक्षिण पूर्वी पोल्यान्डको एउटा ग्रामीण क्षेत्रमा प्रहार भएको बताए।
लक्षित गरेर प्रहार गर्न बनाइएको उक्त क्रूज क्षेप्यास्त्र बिहान करिब साढे ६ बजे दुर्घटनाग्रस्त भएको थियो।
एक स्थानीय बासिन्दाले आफ्ना बच्चाहरूलाई विद्यालयका लागि तयार पार्दै गर्दा आफूले सिटी जस्तो आवाज र केही बिस्तारै ठोक्किएको आवाज सुनेको बताइन्।
क्षेप्यास्त्र ठोक्किएको क्षण एउटा फार्ममा रहेको क्यामरामा कैद भएको र त्यसबाट स्थानीय मानिसहरूमा कुनै खतरा नरहेको अधिकारीहरूले बताएका छन्।
रक्षामन्त्री कामिसले पोल्यान्डको हवाई क्षेत्रमा भएको आक्रमणलाई रुसबाट आएको 'उक्साहट' भने र नेटोसँग थप सहयोग माग्ने बताए।
नेटोका महासचिव मार्क रुटले "पोल्यान्डको हवाई क्षेत्रको गम्भीर उल्लङ्घन" भएको भन्दै त्यसको निन्दा गरे।
"यो घटना स्पष्ट रूपमा खतरनाक छ र यो रुसको युक्रेनविरुद्ध जारी युद्धको परिणाम हो," उनले भने।
उनले शनिवार वार्सको भ्रमण गर्ने भएका छन्।
ब्रिटेनका प्रधानमन्त्री एन्डी बर्नमले क्षेप्यास्त्र ठोक्किएको घटनालाई 'पूर्ण रूपमा अस्वीकार्य' भनेका छन्।
युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले पोल्यान्डका जनताप्रति आफ्नो 'बलियो ऐक्यबद्धता' व्यक्त गर्दै युद्ध अन्त्य गर्न रुस वार्ताको टेबलमा आउनै पर्ने बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















