पहिरोको कारण राहत वितरणमा 'कठिनाइ'

तस्बिर स्रोत, IRC Canada
मंगलबार गएको दोस्रो बिनाशकारी भूकम्पमा परी देशका विभिन्न भागमा शुक्रबार दिउसोसम्म ११७ जनाको ज्यान गएको विवरण प्राप्त भएको गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालका अनुसार मंगलबारको भूकम्पमा परि ज्यान गुमाउनेको संख्या ११७ र घाइतेहुनेको संख्या २,८७१ पुगेको छ।
वैशाख १२ र २९ गतेका दुबै भूकम्पमा परि ज्यान गुमाउनेको संख्या आठ हजार चार सय नाघेको गृह मन्त्रालयको भनाइ छ।
सरकारी आंकडा अनुसार भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा ११, पूर्व क्षेत्रमा ४, मध्य क्षेत्रमा ९९ र पश्चिम क्षेत्रमा ३ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १७३९, पूर्व क्षेत्रमा ११६, मध्य क्षेत्रमा ८९५, पश्चिम क्षेत्रमा ११० र मध्य पश्चिम क्षेत्रमा ११ जना रहेका छन्।
‘कठिन’
मंगलबार दोस्रो ठूलो भूकम्पपछि जताततै पहिरो गएका कारण उद्धार तथा राहत पुर्याउने कार्यमा कठिनाइहरु उत्पन्न भएको अधिकारीहरुले बताएका छन्।
सिन्धुपाल्चोकको कोदारी, रसुवाको पासाङल्हामु, दोलखा जाने जिरी राजमार्ग र कयौ साखा मार्गहरु पहिरोले नराम्ररी प्रभावित भएको गृह मन्त्रालयका अधिकारिहरुको भनाइ छ।
मंगलबारको भूकम्पका कारण सबैभन्दा प्रभावित जिल्लाहरुमा पहिरो गएकोले उद्धार तथा राहत कार्य चुनौतिपूर्ण बनेको लक्ष्मी ढकालले बताए।
“राहत पुर्याउने कार्यमा पहिरो चुनौति भएको छ, पहिरो पन्छाएर कसरी राहत सामाग्री पुर्याउने भनेर हामी विभिन्न उपायबारे छलफल गरिरहेका छौं।"
उनका अनुसार मंगलबारको भूकम्पका कारण सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सोलुखुम्बुका पहाडी तथा हिमाली भागमा ठूलो क्षति पुगेको छ।




















