'हवाई आक्रमणको तस्बिर सार्वजनिक'

पेन्टागनका प्रवक्ता जोन किर्बिले आईएस विद्रोहीसँग लामो समयसम्म लडाई हुन सक्ने स्वीकारेका छन्
तस्बिरको क्याप्शन, पेन्टागनका प्रवक्ता जोन किर्बिले आईएस विद्रोहीसँग लामो समयसम्म लडाई हुन सक्ने स्वीकारेका छन्
Published

सिरियामा सोमबारदेखि हमला थालेको अमेरिकी सेनाले पूर्वी सिरियास्थित इस्लामिक स्टेट विद्रोहीको नियन्त्रणमा रहेका तेल प्रशोधन केन्द्रहरुमाथि गरेको हवाई आक्रमणको भिडियो फुटेज र तस्बिरहरु सार्वजनिक गरेको छ।

इस्लामिक स्टेट विद्रोहीविरुद्ध तेस्रो रात अमेरिकी, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका लडाकू जेटबाट १२ वटा तेल प्रशोधन केन्द्रहरुलाई लक्षित गरी हवाई आक्रमण गरिएको अधिकारीहरुले बताएका छन्।

अमेरिकी रक्षा मन्त्रालयद्वारा बिहिबार सार्वजनिक गरिएको फुटेजमा जेरिब तेल प्रशोधन केन्द्रमा रातिको समयमा आक्रमण भएको देखिन्छ।

अर्को तस्बिरमा हवाई आक्रमणपछिको दृश्य देखिन्छ।

तस्वीर

इस्लामिक स्टेटका विद्रोहीले पछिल्ला महिनाहरुमा इराक र सिरियाको ठूलो भू-भागमाथि कब्जा जमाएका थिए।

तेल बिक्री गरी दुवै मुलुकमा आक्रमणका लागि उसले रकम जुटाउने गरेको बताईएको छ।

अगस्ट महिनायता अमेरिकाले इराकमा दुई सय पटक हवाई आक्रमण गरिसकेको छ भने सोमबारदेखि सिरियामा आक्रमण सुरु गरेको छ।

आक्रमणमा प्रतिदिन दुई सयदेखि पाँच सय ब्यारेल तेल उत्पादन गर्ने साना प्रशोधन केन्द्रहरुलाई लक्षित गरिएको पेन्टागनले जनाएको छ।

पेन्टागनका प्रवक्ता जोन किर्बिले भने, “हवाई आक्रमणको उद्देश्य लडाकूहरुलाई मार्नै मात्र नभई कालोबजारी मार्फत उनीहरुलाई आर्थिक स्रोत जुटाउने ठेगाना ध्वस्त पार्ने पनि हो।”

आक्रमणमा पाँचजना सर्वसाधारण र १४ जना विद्रोही लडाकूहरु मारिएको पेन्टागनले जनाएको छ।

निर्णायक

त्यसबारे अनुसन्धान भईरहेको किर्बिले बताए।

उनले हवाई आक्रमण सफल हुँदै गएपनि त्यो अहिले निर्णायक नभएको जनाए।

किर्बिले अझै पनि इस्लामिक स्टेट विद्रोहीका धेरै स्वयंसेवहरु रहेको र उनीहरुसँग टन्नै हतियार तथा गाडीहरु रहेको बताए।

विद्रोही लडाकुहरु अहिले पनि एक ठाउँबाट अर्को ठाउँमा गतिविधि सञ्चालन गर्न सक्षम रहेको उनको भनाई थियो।

इस्लामिक स्टेट विद्रोहीलाई जितेको भन्नु अहिले हतार हुने पेन्टागनका प्रवक्ताले स्वीकार गरेका छन्।