गोलमेचबारे राजनीतिक छलफल जारी

मुख्य र असन्तुष्ट दलहरुबीच हुने भनिएको गोलमेचमा प्रखर रुपमा उठ्ने ठानिएका विवादित मुद्दामा सहमति जुट्ने भरपर्दो संकेत मिलेको छैन।
छलफल र गृहकार्यबारे जानकार एक नेताको भनाइमा गम्भीर वार्ता जारी रहेपनि वर्तमान सरकारको खारेजी जस्ता नेकपा माओवादीको माग सम्बोधन गर्ने उपाय निस्किएको छैन।
गोलमेच कहिले र कहाँ हुने हो त्यो प्रष्ट भएको छैन, तर मोहन वैद्यले गोलमेच मार्फत राष्ट्रिय सहमति निर्माण हुने आशा व्यक्त गरे।
नेकपा माओवादी सहितको मोर्चा र मुख्य दलका शीर्ष नेताबीच गोलमेच गर्ने सहमति भएपछि असन्तुष्ट दलका मागका विषयमा शुक्रबार सांझसम्म मुख्य दल र असन्तुष्ट दलका नेताबीच अनौपचारिक छलफलहरु जारी थिए।
रस्साकस्सी
नेकपा एमालेका नेता रघुजी पन्तका अनुसार शुक्रबार असन्तुष्ट दलका नेताहरुको नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुसंग छुट्टा छुट्टै छलफल भएका थिए।
“गम्भीर रुपमा छलफलहरु भएका छन्, दुबै पक्षले आफ्ना आफ्ना कुरा राखेका छन्, तर त्यसको निष्कर्ष बाहिर ल्याउने बेला भएको छैन,” पन्तले भने।
वैद्य नेतृत्वको माओवादी सहितको असन्तुष्ट दलहरुको मोर्चाले मंसीर ४ गतेका लागि निर्धारित चुनाव स्थगन गर्नु पर्ने, वर्तमान सरकार खारेज हुनु पर्ने, संविधानका अन्तरवस्तुमा सहमति हुने पर्ने र उच्चस्तरीय राजनीतिक समिति भङ्ग हुनु पर्ने जस्ता माग राखेको छ।
मुख्य दलले ती माग जस्ताको तस्तै सम्बोधन गर्ने संभावना देखिदैन।
‘भाग्न पाइंदैन’
तर शुक्रबार संवाददाताहरुमाझ बोल्दै मोहन वैद्यले गोलमेच सभाबाट कुनै पनि दल भाग्न नपाउने बताए।
“हाम्रो १८ बुँदे माग छ, कुनै पनि दल गोलमेचबाट भाग्न पाउँदैनन्, त्यहाँबाटै राष्ट्रिय सहमति बनाएर अघि बढ्नु पर्छ,” वैद्यले भने।
तर एमाले नेता पन्तले सहमतिको संकेत नमिले गोलमेच सभाको कुनै औचित्य नहुने बताए।
मंसिर ४ गते हुने भनिएको चुनाव सक्रिय बहिष्कार गर्ने असन्तुष्ट दल र मोर्चाको धम्कीकामाझ गोलमेचमार्फत मुख्य दलले अपरिवर्तनीय भनेको चुनावको मिति, वर्तमान सरकार जस्ता मुद्दामा सहमति निकाल्न मुश्किल पर्ने देखिन्छ।




















