तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्रधानमन्त्री बालेनको भारत भ्रमणका महत्त्वपूर्ण र संवेदनशील पक्ष के हुन्?
- Author, शरद केसी
- Role, संवाददाता, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ५ मिनेट
प्रधानमन्त्री वालेन्द्र शाह बालेनले दक्षिणी छिमेकी भारत भ्रमणमा जाँदा आफ्ना पूर्ववर्तीहरूले पछ्याउने गरेका कतिपय औपचारिकता र परम्पराहरूको 'बेवास्ता' गरेका छन्।
उनले विदेश जाँदा नेपाली सेनाको 'गार्ड अफ अनर' लिएनन्। पत्नीलाई भ्रमणमा साथै लगेनन्। विगतका प्रधानमन्त्रीहरूले सामान्यतया सर्वदलीय बैठक तथा पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेर भ्रमणका एजेन्डाहरूबारे राय परामर्श लिने गर्थे। उनले त्यो आवश्यक ठानेको देखिएन।
आफ्नो विदेश भ्रमणबारे राष्ट्रप्रमुखलाई भेटेर औपचारिक जानकारी दिने प्रचलन पनि उनले तोडेका छन्। पत्रकार सुधीर शर्मा यो मामिलामा प्रधानमन्त्री बालेन चुकेको ठान्छन्।
"हाम्रो परराष्ट्र नीति सञ्चालन गर्दा पनि पक्ष र विपक्ष नभनेर संवाद गर्दै एक अर्काको अनुभव र जानकारी उपयोग गर्ने चलन हो, त्यो गरेको भए उहाँ अझै शक्तिशाली हुनुहुन्थ्यो र आत्मविश्वास उच्च हुन्थ्यो होला," उनी भन्छन्, "परम्परा तोड्ने नाममा त्यो नगरेर बाह्य भूमिकामा जाँदा र द्विपक्षीय वार्ताका क्रममा आफ्नै देशभित्र राजनीतिक सहमति नरहेको सन्देश दिन्छ, त्यसले हामीलाई नै कमजोर तुल्याउँछ। त्यो परम्परा विच्छेद उपयुक्त होइन।"
अर्का पत्रकार तथा देशसञ्चार डट कमका सम्पादक युवराज घिमिरेले पनि त्यसलाई वर्तमानको नेपाली कूटनीतिको अपूर्ण र अपरिपक्वता ठानेका छन्। "विगतमा औपचारिकताका निम्ति हुने त्यस्तो परामर्श पनि अहिले भएन, त्यसैले किन यो संशय छ भने, प्रधानमन्त्रीको दिमागमा के छ भन्ने कसैलाई थाहा छैन," उनी भन्छन्, "र, प्रधानमन्त्रीको दिमागमा के छ भन्ने कुराले मात्रै कूटनीति सञ्चालन हुनु हुँदैन।"
बालेन चुनावबाट झन्डै दुई तिहाइ बहुमतसहित शक्तिशाली बनेको पार्टीको तर्फबाट प्रधानमन्त्री छन्। त्यसैले उनले त्यो शक्तिप्रतिको भरोसा र त्यसले दिएको आत्मविश्वास दर्साउन खोजेको कतिपयको आकलन पाइन्छ।
तर पत्रकार शर्मा देशभित्र बलियो भए पनि नयाँ राजनीतिक शक्ति भएकाले उनीहरूलाई अग्रज र अनुभवीहरूको परामर्श उपयोगी हुने ठान्छन्।
"पुराना दल र पुराना नेताहरूका अनुभव राज्यको काम कारबाहीमा पनि प्रयोग हुनसक्छ, विगतमा भारतसँग भएका र गरिएका सहमति र छलफलबारे अनुभवहरू लिएको भए सरकारलाई सजिलो नै हुन्थ्यो होला," शर्माको भनाइ छ, "आफैलाई बलियो बनाउने काम हुन्थ्यो, त्यहाँनिर सरकार चुक्यो जस्तो लाग्छ।"
बालेनले मोदीसँग सीमा विवादको कुरा उठाउलान्?
यस्तो परिस्थितिमा प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा विवादले छलफलमा प्रवेश पाउँछ कि पाउँदैन भन्नेमा धेरैको चासो पाइन्छ।
सरकारको तर्फबाट द्विपक्षीय सम्बन्धसँग सरोकार राख्ने सबै विषयहरूमा छलफल हुने र परिणाममुखी हुने आशा प्रधानमन्त्रीले राखेको जानकारी दिइएको पत्रकार घिमिरे बताउँछन्।
"त्यसैले मलाई लाग्छ- सीमा विवाद पनि छलफलमा उठ्छ र त्यसलाई विधिसम्मत तरिकाले उचित संयन्त्रमार्फत् अगाडि बढाउने गरी एउटा समझदारी बन्छ," उनको बुझाइ छ।
जानकारहरूका अनुसार दुई देशबाट सार्वजनिक गरिएको भ्रमणको एजेन्डामा द्विपक्षीय सहमतिका विषयहरू समेटिएका हुन्छन्।
बालेनको भारत भ्रमणको सार्वजनिक एजेन्डामा सीमा विवादको विषय समेटिएको छैन।
"त्यसले कुनै पक्षलाई कुनै महत्त्वपूर्ण वा पूरक विषय उठाउन निषेध गर्दैन, सीमा विवाद दुवै पक्षले पहिचान र स्वीकार गरेको विषय हो," पत्रकार घिमिरे भन्छन्, "वर्तमान सरकारले सबै विषय उठ्ने भन्दै सीमा विवाद पनि उठ्ने सङ्केत दिएकाले मलाई लाग्छ यो विषय पनि छलफलमा उठ्छ।"
त्यसपछि त्यसलाई कसरी हल गर्ने भन्नेबारे छलफल र बहस हुनसक्ने उनको बुझाइ छ।
भारत नेपालले उठाउन सक्ने सबै विषयको निम्ति तयार रहेको हुनसक्ने बताउँदै उनी भन्छन्, "बरु नेपालले सिमानाको विवादको विषय उठाएन भने भारतको लागि आश्चर्य होला।"
'भारतको संवेदनशील प्रस्ताव'
भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री बालेनको भ्रमणले नेपाल र भारतबीचको "चिरस्थायी र बहुआयामिक साझेदारीलाई सुदृढ बनाउने अवसर प्रदान" गर्ने बताएको छ।
प्रधानमन्त्री बालेन भारत भ्रमणमा जानुअघि दुवै देशका अधिकारीहरूले द्विपक्षीय छलफलका विभिन्न मुद्दाहरूमा छलफल गरेका थिए।
त्यसको एउटा विषय हो-- नेपालले प्रस्ताव गर्दै आएको अन्तर्राष्ट्रिय उडानको निम्ति भारतीय बाटो हुँदै नेपाल प्रवेश गर्ने हवाई प्रवेश मार्गको अनुमति।
नेपालले महेन्द्रनगर, नेपालगन्ज वा भैरहवा नजिकबाट जहाज प्रवेश गर्ने गरी हवाई मार्ग खुला गरिदिन भारतसँग आग्रह गर्दै आएको छ।
त्यसो भएमा खास गरी भैरहवा र पोखरा विमानस्थलमा पूर्ण क्षमतामा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न र पश्चिमबाट नेपाली आकाश हुँदै अन्य देश जान अन्तर्राष्ट्रिय उडानको निम्ति बाटो खुला हुने बताइन्छ।
बदलामा भारतले उत्तर पूर्वी भारतको बागडोगरास्थित विमानस्थलबाट नेपाली आकाश प्रयोगको अनुमति मागेको विवरणहरू सार्वजनिक भएका छन्।
विगतमा भारतीय समाचारपत्रहरूले नै त्यहाँको व्यवस्थापन भारतीय वायु सेनाको मातहतमा रहेको उल्लेख गरेको पाइन्छ।
"त्यो विमानस्थल भारतीय वायु सेनाको आधार हो, आपत्कालीन अवस्थामा भारतीय वायु सेनाको निम्ति पनि नेपाली आकाश प्रयोग गर्न दिनु पर्ने प्रस्ताव आएको खबर साँचो हो भने यो संवेदनशील विषय हो," पत्रकार सुधीर शर्मा भन्छन्, "र यसमा नेपाली पक्षले ध्यान दिनुपर्छ।"
बागडोगरा 'चिकेन नेक' पनि भनिने सिलिगुढी कोरिडोर क्षेत्रमा पर्छ जहाँबाट चीन र बाङ्ग्लादेश लगायतका देशहरूको सिमाना नजिक पर्छ।
पत्रकार शर्मा "बाङ्ग्लादेशसँग भारतको बिग्रिएको सम्बन्ध र भारत-चीनका सेनाबीच विगतमा झडप भएको क्षेत्र पनि नजिक रहेको सन्दर्भसँग भारतको उक्त प्रस्ताव आएको" ठान्छन्।
उनी भन्छन्, "भारतले त्यो इलाकालाई निकै संवेदनशील मान्ने गर्छ, त्यसमा भारतले सामरिक हिसाबले नेपालको पनि कुनै खालको समर्थन खोजेको देखिन्छ। त्यसैले नेपालले अन्य हवाई मार्गसँग त्यसलाई लेनदेनको विषय बनाउनु घातक हुन्छ जस्तो लाग्छ।"
यो भ्रमण विगतभन्दा के फरक होला?
यस पृष्ठभूमिका माझ प्रधानमन्त्री बालेनको भ्रमण विगतका प्रधानमन्त्रीको जस्तै परम्पराको निर्वाह मात्र हुन सक्ने कतिपयको आकलन पाइन्छ।
पत्रकार युवराज घिमिरे यो भ्रमणलाई नेपाली प्रधानमन्त्री बालेनको भन्दा भारतको बढी अग्रसरताको परिणाम ठान्छन्।
त्यसैले यस पटक प्रधानमन्त्रीले भारतबाट "अलिकति बढी महत्त्व पाउने" उनको आकलन छ।
तर विभिन्न जल्दा बल्दा र लामो समयदेखि थाँती रहेका विषयहरूमा तत्काल परिणाम नआउने बताउँदै उनले भने, "तत्काल उपलब्धिभन्दा पनि एउटा प्रक्रियामा लग्न नेपालले अडान लिन सक्छ र मलाई लाग्छ नेपालले त्यो अडान लिँदै छ।"
बालेन नयाँ राजनीतिज्ञ र उनको दल पनि नयाँ भएकाले बालेनप्रति भारतको चासो रहेको अर्का पत्रकार शर्मा पनि बताउँछन्।
"एक अर्काको विश्वास आर्जन गर्ने र चिन्ने कुरा नै भ्रमणको सबैभन्दा महत्त्वपूर्ण पक्ष होला," उनी भन्छन्, "प्रधानमन्त्री बालेनको द्विपक्षीय भ्रमण पनि पहिलो र भारतको भ्रमण पनि पहिलो भएकाले धेरै कुरा एकै पटक भइहाल्छ जस्तो लाग्दैन।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।