तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
के एआईले बेलैमा स्तन क्यान्सर पहिचान गर्ला, विश्वकै ठूलो परीक्षण हुँदै
- Author, फेर्गस वाल्श
- Role, चिकित्सा सम्पादक
- Published
- पढ्ने समय: ४ मिनेट
आर्टिफिशल इन्टेलिजन्स एआईले स्तन क्यान्सर पहिचानमा कसरी सहयोग गर्न सक्छ भन्ने परीक्षणका लागि यूकेमा झन्डै ७,००,००० महिलालाई सहभागी हुन आह्वान गरिएको छ।
यो परीक्षणका क्रममा स्तनको एक्स-रे अर्थात् 'म्यामोग्राम'को जाँचका लागि एआई प्रयोग गरिने छ। मानव स्वास्थ्यकर्मीलाई कामको चाप कम गर्न र महिलाहरूलाई धेरै किसिमका परीक्षण गर्नुपर्ने झन्झट कम गर्दै क्यान्सर भए नभएको प्रारम्भिक चरणमै पहिचान गर्न एआईको परीक्षण गर्न लागिएको हो।
यूकेमा पहिलो चरणमा यस्तो परीक्षण हुन लागेका ३० वटा केन्द्रहरूमध्ये केम्ब्रिज विश्वविद्यालय अस्पतालमा महिलाहरूको आवेदन स्वीकृत गर्न सुरु गरिसकिएको छ।
यूकेमा ५० वर्षभन्दा माथिको उमेरका र ७१ वर्षसम्मका महिलाहरूलाई हरेक तीन वर्षमा स्तनको नियमित जाँच गराउन आह्वान गरिएको छ। अहिले हरेक वर्ष २० लाख जनाभन्दा धेरै महिलाहरूले हरेक वर्ष स्तन क्यान्सरको परीक्षण गराउने गरेका छन्।
अहिले न्याश्नल हेर्थ सर्भिसका विज्ञहरूले हरेक म्यामोग्राम आफैँ हेर्ने गरेका छन्। एआई परीक्षणका क्रममा एक्सरे हेर्ने एक जना मानवको काम एआईलाई लगाइन्छ।
प्रारम्भिक चरणमा एक तिहाइको मात्रै पहिचान
कैयौँ स-सानो स्तरका अध्ययनहरूले एआईले स्तन क्यान्सर पहिचानको दर बढाउने यसअघि नै देखाइसकेका छन्। तर अहिलेको परीक्षण गरिरहेका अनुसन्धानकर्मीहरूले थप परीक्षणका लागि महिलाहरूलाई बोलाइरहनुपर्ने अवस्था नआउने कुराको निश्चय गर्नुपर्ने छ।
वारिक विश्वविद्यालयस्थित स्वास्थ्य तथा जनसङ्ख्या विषयका प्राध्यापक समेत रहेका सह-प्रमुख अनुसन्धाता सिआन टेलर-फिलिप्सले एआईको सहयोगमा प्रविधिले प्रारम्भिक चरणमै क्यान्सर पहिचान थप चुस्त बनाउने र लक्षण नै नदेखिए मानिसहरूले धेरै पहिचान गर्नुपर्ने बाध्यता कम गर्ने बताए।
यूकेका महिलाहरूमा स्तन क्यान्सर सबैभन्दा धेरैलाई हुने क्यान्सरको समस्या हो। हरेक वर्ष यूकेमा ५९,००० जना महिलालाई स्तन क्यान्सर पहिचान हुने गरेको छ।
जसमध्ये एक तिहाइको पहिचान नियमित म्यामोग्राम परीक्षणबाट प्रारम्भिक चरणमै र उपचारपछि निको हुने अवस्थामै थाहा हुने गरेको छ।
नियमित जाँचको परियोजनाले हरेक वर्ष यो क्यान्सरबाट १,३०० जना महिलाको ज्यान जोगिएको आकलन छ।
केम्ब्रिज विश्वविद्यालयको रेडिओलोजी विभागकी प्राध्यापक फिओना गिल्बर्ट पनि यो अध्ययनकी उपप्रमुख अनुसन्धाता हुन्। उनका अनुसार हरेक वर्ष १० लाख भन्दा धेरै महिलाको म्यामोग्राम गर्दा पनि एक प्रतिशतभन्दा कमलाई क्यान्सर भएको पहिचान हुन्छ।
"प्रविधिले (एक्स-रे) तस्बिरहरूको जाँच थप प्रभावकारी बनाउन सक्छ। रेडिओलोजिस्ट विशेषज्ञहरूले त्यसका लागि कम समय दिनु पर्दा उनीहरूले क्यान्सरका बिरामीलाई हेर्न थप समय दिन पाउँछन् अनि छिटो रोग पहिचान र छिटो उपचारमा सहयोग पुर्याउन सक्छन्।"
गिल्बर्टले बीबीसीलाई बताए अनुसार अहिले रेडिओलोजिस्टहरूको अभाव छ। साथै हरेक वर्ष एक्स-रे परीक्षण ८ प्रतिशतका दरले बढिरहेको छ।
जाँच गराएका कारण 'मेरो ज्यान जोगियो'
केम्ब्रिजशरकी ७० वर्षीय शर्ली एसेक्समा एक वर्षअघि नियमित स्क्रिनिङ जाँचपछि प्रारम्भिक चरणको स्तन क्यान्सर पहिचान गरिएको थियो।
उनको शल्यक्रिया र रेडियोथेरापी गरिएको थियो। तर उनलाई केमोथेरापीको आवश्यकता परेन।
उनले आफ्नो म्यामोग्राम परीक्षणले ज्यान बचाएको बीबीसीसँग बताइन्।
"मलाई कुनै लक्षण थिएन। त्यसैले मलाई क्यान्सर भएको छ भनेर सुनाउँदा म अचम्ममा परेँ," उनले भनिन्।
शर्ली यो अध्ययनमा सहभागी छैनन्। तर उनी जाँचको महत्त्वबारे निकै सचेत छिन्।
मेरो क्यान्सर प्रारम्भिक चरणमै पत्ता लाग्यो भन्नेमा म आफूलाई निकै भाग्यमानी ठान्छु। त्यो मेरो अन्तिम नियमित म्यामोग्राम परीक्षण थियो। यदि मैले त्यो जाँच नगराएको मेरो क्यान्सर बढिरहने थियो," उनले भनिन्।
परीक्षण कसरी हुन्छ
महिलाहरूलाई नियमित स्तन परीक्षणको खबरसँगै यो अध्ययनबारे पनि जानकारी दिइने छ। तर उनीहरूलाई यसमा सहभागी हुन बाध्य गरिने छैन।
स्तनको परीक्षणका क्रममा अपनाइने अहिलेको प्रक्रियामा अब हुन लागेको अध्ययनले कुनै परिवर्तन ल्याउँदैन।
के चाहिँ गर्छ भने म्यामोग्रामको जाँच गर्ने दुई जना मानव विशेषज्ञमध्ये एक जनाको काम एआईबाट गराइन्छ। अनि एआई-सहायतायुक्त उपकरणले मानिसकै जसरी काम गर्न सक्छ वा सक्दैन भनेर परीक्षण गरिने छ।
अनुसन्धानकर्ताहरूका अनुसार मशिन लर्निङ सफ्टवेअरलाई विगतका लाखौँ तस्बिरहरू देखाएर मानव आँखाले कहिलेकाहीँ ठम्याउन नसक्ने किसिमका सूक्ष्म परिवर्तनहरू स्तनमा भए वा नभएको पत्ता लगाउन सिकाइन्छ।
परीक्षणको क्रममा एउटा समूहका तस्बिरहरू पहिले एआईले जाँच गरेर मात्रै एनएचएसका विशेषज्ञकहाँ पठाउँछ। अर्को समूहका तस्बिरहरू चाहिँ मानिसले जाँच गरेपछि एआईले मूल्याङ्कन गर्ने छ।
यो परीक्षणका लागि १ करोड १० लाख पाउन्ड खर्च हुने ठानिएको छ।
'व्यापक सम्भावना'
एडेनब्रुक्स अस्पतालमा रहेको स्तन परीक्षण केन्द्रको भ्रमणका क्रममा यूकेका स्वास्थ्य मन्त्री इभेट कुपरले एआईसँग उपचारलाई सुधार गर्ने व्यापक सम्भावना रहेको बताइन्।
"यसलाई उच्चतम सुरक्षाको व्यवस्थासहित सबैभन्दा प्रभावकारी तरिकाले प्रयोग गरिरहेका छौँ भनेर सुनिश्चित गर्न यस्ता परीक्षणहरू आवश्यक छन्," उनले बीबीसीसँग भनिन्।
एनएचएस इङ्ग्ल्यान्डका क्यान्सरसम्बन्धी राष्ट्रिय क्लिनिकल निर्देशक प्राध्यापक पिटर जोनसनले एनएचएसको स्तन परीक्षण कार्यक्रमले "जीवन बचाउने" अपेक्षा गर्न महिलाहरूलाई सहभागिता जनाउन आह्वान गरे।
"अझै पनि हरेक स्क्यान विशेषज्ञले हेर्छन् र यो प्रभावकारी भएको प्रमाणित भए महिलाहरूले अझै छिटो रोग थाहा पाउन र उपचार पाउन सक्छन्," उनले भने।
करिब तीन वर्षसम्म चल्ने ठानिएको यो परीक्षणमा चार वटा एआई कम्पनी सहभागी छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।