न्याय परिषद पदाधिकारीलाई बोलावट

अहिले सर्वोच्च अदालतमा न्यायाधीशहरुको अभावले गर्दा दैनिक न्याय सम्पादन प्रभावित भइरहेको छ
तस्बिरको क्याप्शन, अहिले सर्वोच्च अदालतमा न्यायाधीशहरुको अभावले गर्दा दैनिक न्याय सम्पादन प्रभावित भइरहेको छ
Published

सर्वोच्च अदालतका लागि सिफारिश न्यायधीशहरुलाई लिएर चर्को आलोचना भइरहेका बेला उक्त सिफारिश गर्ने प्रधानन्यायधीश नेतृत्वको न्याय परिषदकै पदाधिकारीहरुलाई त्यसबारे सोधपुछ गर्न संसदीय समितिले बोलाउने भएको छ।

नेपालको संसदीय सुनुवाइको इतिहासमा निर्णयकर्ताहरुलाई यसरी संसदीय समितिमा बोलाइएको यो पहिलो घटना हो।

परिषदका पदाधिकारी र उजुरीकर्ताहरुसंग आउँदो आइतबार समितिमा छलफल गरेपछि मात्रै प्रस्तावित न्यायाधीशहरुलाई सुनुवाईका लागि बोलाउने निर्णय भएको संसदीय सुनुवाइ समितिले जनाएको छ।

सर्वोच्चको स्थायी न्यायाधीश पदमा केही विवादास्पद छविका नामहरु सिफारिस गरेको भन्दै विभिन्न पक्षबाट तीव्र विरोध भइरहेका बेला समितिले त्यस्ता व्यक्ति छनोट गर्नुको आधार परिषद पदाधिकारीलाई नै सोध्ने निर्णय गरेको हो।

आधार

प्रधानन्यायधीश नेतृत्वको परिषदमा सर्वोच्चकै वरिष्ठतम् न्यायधीश ,कानून मन्त्री, नेपाल बार एशोसियन तथा प्रधानमन्त्रीबाट सिफारिश दुई जना वकिल सदस्य रहन्छन्।

यसअघि समितिले न्यायधीश सिफारिशसम्बन्धी परिषदको निर्णय पुस्तिका झिकाएर अध्ययन पनि गरेको थियो।

मंगलबार करिब पाँच घन्टा बसेको बैठकको निर्णयबारे समितिका सचिव ध्रुव घिमिरेले भने, "न्यायाधीश सिफारिसबारे न्याय परिषदका अध्यक्ष तथा सदस्यहरु र प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी गर्ने उजुरीकर्ताहरुलाई जेठ चार गते बस्ने बैठकमा छलफलका लागि बोलाइएको छ।"

आउँदो आइतबार बस्ने भनिएको बैठकमा लामो समय सर्वोच्चमै कार्यरत अस्थायी न्यायाधीशहरुलाई किन पाखा लगाइयो भन्ने लगायत बाहिर उठेका प्रश्नहरु सोधिने एमालेका तर्फबाट समितिमा सदस्य रहेका रविन्द्र अधिकारीले बताए।

जवाफदेहिता

उनले भने, "सर्वोच्चमा न्यायाधीश पद त्यति लामो समय रिक्त रहँदा किन पदपुर्ति नगरेको, अस्थायी न्यायाधीशहरुलाई किन स्थायीका लागि समावेश नगरेको र विवादास्पद नाममा कुन आधारमा सिफारिस गरेको भनेर हामी सोध्छौं।"

कानुनी प्रावधान अनुसार सिफारिस भएका न्यायाधीशहरुको ३५ दिनभित्र संसदीय सुनुवाई नगरे उनीहरु स्वत: नियुक्तिका लागि योग्य हुने व्यवस्था छ।

आठ न्यायाधीशविरुद्ध २२ थान उजुरी परेकोले त्यसको सुनुवाईमा धेरै समय लाग्न सक्ने भन्दै जेठ १४ अगावै प्रस्तावित न्यायाधीशहरुबारे टुंगो लगाइने गरि कार्यतालिका बनाउने विषयमा समेत छलफल भएको समितिका सभापति तथा कांग्रेस नेता कुलबहादुर गुरुंगले बताए।

पहिलोपटक न्यायाधीश चयनको निर्णयमाथि संसदीय समितिबाट प्रश्न उठाइएकोले परिषदको निर्णय यसअघि जस्तै स्वीकृत होला वा अस्वीकृत भएर नयाँ नजिर बन्ला भन्ने विषयमा धेरैको चासो देखिएको छ।