असन्तुष्ट दलहरुप्रति सरकार 'हदै सम्म लचिलो'

उच्चस्तरीय समिति
तस्बिरको क्याप्शन, उच्चस्तरीय राजनीतिक समितिले अब कुरा मिलाउने जिम्मा सरकारलाई दिने निर्णय गरेको छ
Published

आगामी मंसिर ४ को चुनाव बहिष्कार गर्ने बताउंदै आएको नेकपा-माओवादी सहितको ३३ दलीय मोर्चालाई चुनावमा सहभागी गराउन "हदै सम्मको लचकता" अपनाउने सरकारका प्रवक्ताले बताएका छन्।

यसअघि उक्त मोर्चाले माग गर्दै आएको गोलमेच सम्मेलन बस्नु अघिनै विमति भएपछि सरकार समर्थक दलहरुको उच्चस्तरीय राजनीतिक समितिले शुक्रबार वैठक बसी अब असन्तुष्ट पक्षलाई मनाउने जिम्मा सरकारलाई दिएको हो।

लचिलो

उच्चस्तरीय राजनीतिक समितबाट अब वैद्य पक्षलाई फकाउने जिम्मा आफ्नो काँधमा आएपछि सरकारले सहमतिका लागि पुन: प्रयास गर्ने बताएको छ।

सरकारका प्रवक्ता एवम् सूचना तथा संचार मन्त्री माधव पौडेल भन्छन्, "उहाँहरुको अन्य मागहरुलाई सम्बोधन गर्न हदै सम्मको लचकता अपनाएर वार्ता गर्छौं। पार्टी दर्ता गर्नु भएको छैन। दर्ताको लागि सहजीकरण गर्न निर्वाचन आयोगसँग कुरा गर्छौं तर मंसिर ४ को निर्वाचन चाहिं हाम्रो बटम लाइन हो।"

तर मंसिर ४ को चुनाव गराउने म्यान्डेट पाएको सरकारसमक्ष त्यस्तो लचकता देखाउने ठाउँ कमै रहेको विश्लेषकहरु बताउँछन्।

ब्यस्त

मंसिर ४ मा जसरी भए पनि चुनाव गर्ने सरकारपक्षीय राजनीतिक दलहरुको अडान रहेको छ।

तर कुनै पनि हालतमा चुनाव हुन नदिने मोहन वैद्य नेतृत्वको नेकपा माओवादी सहितको ३३ दलीय मोर्चाले धम्की दिंदै आएको छ।

परस्परविरोधी धारणका कारण सम्बन्ध चिसिदै गएपछि चार राजनीतिक शक्ति सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले मोर्चालाई मनाउने जिम्मा सरकारलाई दिएको थियो।

समितिको शुक्रबार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो।

वार्ताका लागि अब समय नभएकोले कुरा मिलाउने जिम्मा सरकारलाई दिएको एमाले नेता रघुजी पन्तको भनाई छ।

उनी भन्छन्, "निर्वाचनको तयारीमा सबै नेताहरु लाग्नु पर्ने भएको हुँदा समिति आफै वार्तामा बसीरहन भ्याउंदैन। कतिपय नेताहरु आफै उम्मेदवार बन्नु पर्ने होला। मैदानमा जानुपर्ने हुन्छ।"

वैद्य नेतृत्वको मोर्चालाई सहमतीमा ल्याउन सरकारले विगत पाँच महिना देखि ३ पटक सम्म औपचारिक वार्ता गरीसकेपनि त्यस्तो प्रयास फलदायी हुन सकेको छैन।