प्रचण्डमाथि भारतीय गुप्तचरसंग रहस्यमय भेट गरेको आरोप

एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डमाथि पार्टीकै प्रभावशाली नेताहरुले छिमेकी भारतका गुप्तचर संस्थाका अधिकारीसँग रहस्यमय भेटघाट गरेको गम्भीर आरोप लिखित रुपमै लगाएका छन्।
केन्द्रिय समितिको बिहिवारदेखि शुरु भएको बैठकमा उपाध्यक्ष मोहन वैद्य किरण र महासचिव रामबहादुर थापा बादलले सात बुँदे लगायतका सहमतीको विरोधमा पेश गरेको फरक प्रस्तावमा त्यस्तो आरोप लगाइएको छ।
प्रतिवेदनमा विदेशी गुप्तचरका अधिकारीलाई भेट्दा देश, जनता र पार्टीलाई जानकारी नदिएको भन्दै भेटप्रति आशंका दर्शाइएको छ।
प्रभाव
एकजना पोलिटब्युरो सदस्यका अनुसार, सात बुँदे सहमती लगायत अन्य कतिपय आन्तरिक निर्णयमा समेत त्यस्ता भेटघाटको प्रभाव परेको आरोप लगाइएको छ।
प्रचण्ड स्वंयले भने त्यस्तो आरोपलाई हाँस्यास्पदको संज्ञा दिँदै आएका छन्।
तर गम्भीर ठानिएका ती लगायतका विवादका अन्य विषयमा प्रवेश नै नगरी बैठक दश दिनका लागि स्थगित भएको छ।
असन्तुष्ट खेमाका एकजना पोलिटब्युरो सदस्य कुलप्रसाद केसीले भने, "अन्तर संघर्षबारे छलफल अलि लामो हुने र पार्टीक नेताहरु देश बाहिर जानु पर्ने भएकाले बैठक २७ गते बस्ने गरी स्थगित भएको छ।"
बहुमतको बल
पार्टी संस्थापन पक्ष सात बुँदे सहमती बहुमतकै बलमा भए पनि अनुमोदन गराउने पक्षमा देखिन्छ।
तर त्यो मान्य नहुने संकेत दिँदै केसीले भने, "शान्ति र संविधानको निर्णाय सवालसँग गाँसिएका मुद्दा भएकाले बहुमतको बलमा एउटाले लादने र अर्को चुप लाग्ने स्थिति हुन्न।"
असन्तुष्ट समूहले बैठक स्थगित भएको १० दिनको अवधिमा आफ्ना विरोध कार्यक्रम के हुने भन्ने खुलाएको छैन।
त्यस सम्बन्धमा चेतावनीको शैलीमा केसीले भने, "शान्ति र संविधानबारे उठेका विवादित मुद्दालाई प्रभावित हुने गरी काम हुन थाले भने स्वाभाविक प्रतिकृया हुन्छ।"
माओवादी संस्थापन पक्ष भने सात बुँदेको कार्यान्वयनका काम अगाडी बढाउन दृढ देखिन्छ।
तर माओवादीको प्रभावशाली समूह सात बुँदे विरुद्ध उभिएकाले सहमती कार्यान्वयन चुनौतीमुक्त नरहेको ठानिएको छ।




















