प्राध्यापक हु सीसेङ भन्छन्, “नेपालको सत्तारूढ दलभित्रको मतभेदबारे जानकारी पाउनु चिनियाँ राजदूतको कर्तव्य’

तस्बिर स्रोत, Photo Courtesy: CICIR
सत्तारूढ दलमा देखिएका अन्तर्विरोधबारे जानकारी प्राप्त गर्ने र कुनै पनि अप्रत्याशित अवस्थाको लागि तयार रहने दायित्व कूटनीतिज्ञको हुने भन्दै एक जना चिनियाँ विश्लेषकले आफ्नो देशकी राजदूतको प्रतिरक्षा गरेका छन्।
प्राय: खुला रूपमा 'बाह्य राजनीतिमा संलग्न नहुने' छवि बनाएकी चीनकी राजदूतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र अन्तर्विरोध उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाललाई भेटेकी थिइन्।
त्यसलगत्तै पार्टीका दुई अध्यक्षहरू एक ठाउँमा उभिएका भन्ने विवरण आएका थिए।
त्यसलाई कतिपयले चिनियाँ प्रभावमा आएको निर्णयका रूपमा पनि व्याख्या गरेका थिए।
यसै मेसोमा हाम्रा साथी संजीव गिरीले चीनको राज्य परिषद्को अधीनमा रहेको चिनियाँ समसामयिक अन्तर्राष्ट्रिय सम्बन्ध संस्था सिआईसीआईआरमा दक्षिण एशिया मामिला हेर्ने एकजना निर्देशक प्राध्यापक हु सीसेङसँग गरेको कुराकानी।
काठमाण्डूमा हालै सत्तारूढ दलका नेताहरूसँग अलग अलग चिनियाँ राजदूतले भेटघाट गर्नुलाई तपाईं कसरी हेर्नुहुन्छ?
यो दुई देशबीचको सामान्य अन्तरक्रिया हो। एकातिर विश्व कोभिड-१९ को सङ्क्रमणको चपेटामा छ र यस्तो अवस्थामा सबै मुलुकहरूसँग कूटनीतिक संवाद चिनियाँ नेतृत्वलाई आवश्यक छ।
अर्को तिर नेपालमा सत्तारुढ दलभित्र मतभेद रहेको सुन्नमा आएका थिए।
यस्तो अवस्थामा त्यसबारे पृष्ठभूमि थाहा पाउनु, जानकारी प्राप्त गर्नु र अप्रत्याशित अवस्थाका लागि तयार रहनु चिनियाँ राजदूतको कर्तव्य हो।
त्यसकारण मलाई लाग्छ कि यो सामान्य कूटनीतिक कार्य हो। र, यो कुनै अन्य देशको कूटनीतिक सम्बन्ध भन्दा फरक छैन।
नेपालका केही विश्लेशकहरूले यसलाई हस्तक्षेप र अस्वाभाभिक घटनाको संज्ञा दिइरहेका छन्। सत्तारुढ पार्टीको विषयमा छलफल गर्नु एक किसिमको हस्तक्षेप होइन?
मलाई त्यस्तो लाग्दैन। के भइरहेको छ भन्ने विषयमा जानकारी लिनु कुनै पनि देशको राजदूतको कर्तव्य हो।
राजदूत हुनु भनेको कुनै पनि देशको आँखा हुनु हो। त्यसकारण जे विषयमा हाम्रो चासो हुन्छ त्यसबारे जानकारी लिनु सामान्य कुरा हो।
यसलाई सामान्य कूटनीतिक गतिविधिकै रूपमा हेरिनु पर्छ।
चीनले बाह्य देशका आन्तरिक राजनीतिमा त्यति संलग्न नहुने छवि बनाएको छ। पछिल्लो प्रकरणलाई चीनको कार्यशैलीमा देखिएको परिवर्तनका रूपमा पनि अर्थ्याइएको छ। नेपाल मामिलाका सन्दर्भमा चीन पनि भारतकै जस्तो पथमा लागेको हो?
चीन मुखर भए जस्तो मलाई लाग्दैन। हाम्रो कूटनीतिक गतिविधि सामान्य अभ्यासकै रूपमा अघि बढेको छ।
भविष्यमा हुन सक्ने हाम्रो चासोका विषयबारे राम्रोसँग सूचित हुनु स्वाभाविक नै हो।
त्यस कारण हस्तक्षेप भन्ने शब्दको प्रयोग नै गलत हो। यो सामान्य मैत्रीपूर्ण आदानप्रदान हो।
त्यसको अर्थ कूटनीतिक अभ्यासका क्रममा अन्य मुलुकहरूले पनि यस्तै रवैया अपनाउँदा यसलाई चीनले समस्याका रूपमा हेर्ने छैन वा त्यो चिनियाँ चासोको विषय रहने छैन भन्न मिल्छ?
पक्कै पनि। यो महिनाको अन्त्य सम्ममा चीनले दुई वटा महत्त्वपूर्ण बैठक आयोजना गर्दैछ। ती निकै महत्त्वपूर्ण कार्यक्रमहरू हुन्।
नेपालले त्यसबारे जान्न चाहे वा के कस्ता नयाँ नीतिहरू आउँदै छन् भन्ने बारे जान्न चाहे नेपालका राजदूतले पनि चिनियाँ नेताहरूसँग यस्ता किसिमका छलफल गर्न सक्छन्।
यसमा कुनै विशेष किसिमको भिन्नता हुन्छ जस्तो मलाई लाग्दैन। यथार्थ चित्र थाहा पाउनु राजदूतको कर्तव्य हो।
तपाईँले हामीलाई हालै एकताबद्ध भएको कम्युनिष्ट नेतृत्वले मात्रै नेपाल चीन सम्बन्धलाई थप प्रगाढ बनाउने छ भन्नु भएको थियो। यसको अर्थ नेपालका अरू प्रजातान्त्रिक दलहरूबारे चीन त्यति धेरै आशावादी छैन भन्ने हो?
होइन। नेकपा पनि नेपालको प्रजातान्त्रिक प्रक्रियाको एउटा हिस्सा हो।
बहुदलीय व्यवस्थाका लागि नेपालले गरेको प्रयासको यो एउटा अङ्ग हो।
नेपालमा चीनले सबै राजनीतिक दलहरूसँग राम्रो सम्बन्ध स्थापित गरेको छ।

तस्बिर स्रोत, RSS
तर कम्युनिष्ट एकता दुई देशको सम्बन्ध र समझदारीलाई उचाइमा पुर्याउन महत्त्वपूर्ण रहेको भनिरहँदा यसले नेपाली काङ्ग्रेस लगायतका ठूला दलहरूलाई बेवास्ता गरे जस्तो देखिन्छ नि?
नेपाली काङ्ग्रेसको आन्तरिक एकता पनि दुईपक्षीय सम्बन्धमा महत्त्वपूर्ण भूमिका रहन्छ।
खासगरि कुनै सम्झौताको कार्यान्वयन वा भविष्यमा नयाँ किसिमका सम्झौताका लागि यो निकै महत्त्वपूर्ण छ।
त्यसकारण कुनै पनि दलको धारणा चीनका लागि महत्त्वपूर्ण छ जसका कारण उनीहरूको आन्तरिक विमतिबारे हामी चिन्तित नै रहन्छौं।
चीनको सुधारमा महत्त्वपूर्ण योगदान रहेका नेता तङ स्याओ पिङले मुसा समातेसम्म बिरालो कालो होस् वा सेतो फरक पर्दैन भनेका थिए जुन चिनियाँ शासन प्रणालिको एउटा महत्त्वपूर्ण शैलीसमेत रहेको बताइन्छ। चीन नेपालमा नेकपाको एकताका लागि खुलेरै लाग्नुले त्यो अभ्यासमा परिवर्तन आएको सङ्केत गर्दैन?
लामो समयदेखि आत्मसात गर्दै आएको नीति चीनले परिवर्तन गर्छ जस्तो मलाई लाग्दैन।
म जोड दिन चाहन्छु कि सबै मित्र राष्ट्रहरूमा अझ छिमेकी देशहरूमा चीनले सबै राजनीतिक दलहरूसँग सबै खाले सम्बन्ध बनाउँछ।
मलाई लाग्दैन कि विभिन्न दलहरू प्रति हाम्रो नीति विभेदपूर्ण छ।
तर स्पष्ट रूपमा भन्नुपर्दा दुवै देशमा कम्युनिष्ट पार्टीहरू सत्तामा रहेको अवस्थामा उनीहरूले केही समान मूल्य राख्नु स्वभाविक कुरा हो।
त्यसको अर्थ चीनले नेतृत्वमा रहेका बेला अन्य दलहरू प्रति विभेदकारी धारणा राख्छ भन्ने होइन।

तस्बिर स्रोत, Reuters
के तपाईँहरूको चासो भनेको कम्युनिष्ट पार्टीको वैचारिक विषयसँग मात्रै सम्बन्धित हो?
होइन। हामी नेकपाको आन्तरिक एकताबारे बढी चिन्तित छौँ किनभने राजनीतिक अनिश्चितताले हाम्रो दुईपक्षीय सम्बन्धमा असर पार्छ।
पछिल्लो ३० वर्षमा नेपालको अस्तव्यस्तताले त्यसमा साँच्चै असर पारेको छ।
बेइजिङले नेपालको कम्युनिष्ट नेतृत्वलाई कसरी हेरेको छ त?
यसमा म व्यक्तिगत धारणा राख्छु। चीनले कसरी हेर्छ भन्ने विषयमा म भन्न सक्दिनँ।
मेरो विचारमा पछिल्लो दुई वर्षमा नेकपाले धेरै काम गरेको छ। नेकपाले सङ्क्रमणकालीन समयमा सत्ताको बागडोर सम्हालेको हो।
नेपालमा अहिले नयाँ संविधान, राजनीतिक व्यवस्था र संयन्त्र छ। पछिल्लो २ वर्षमा सरकारले करिब २०० नयाँ नियम र कानुनमा काम गरेको छ ।
दिगो विकाश र संरचना विकास गर्ने क्षेत्रमा काम भइरहेको छ। नयाँ व्यवस्था भए पनि नेपालमा पुरानै प्रशासनिक पात्रहरू छन्।
ठूलो अपेक्षा भए पनि नेपालसँग त्यसको पूर्ति गर्ने क्षमताको कमी छ।
नेकपाको एकताबारे हामीले कुरा गरिहाल्यौ।
भूकम्पपछिको पुननिर्माणदेखि लिएर कोभिड-१९ का कारण उत्पन्न आर्थिक कठिनाइहरू कसरी पार गर्ने भन्ने विषय लगायतमा चुनौती देखिन्छ।
तर चुनौती भए पनि आशा गर्ने ठाउँ छ किनभने भविष्यका लागि आवश्यक संरचनाहरू बनिरहेका छन्।
अफ्रिकासहित विश्वका विभिन्न मुलुकहरूमा चिनियाँ चिकित्सकीय टोलीहरूले कोभिड-१९ को उपचारमा सघाइरहेका छन्। नेपालमा भने त्यस्तो अवस्था देखिँदैन। यसलाई कसरी हेर्नुहुन्छ?
कोभिड-१९ को सङ्क्रमण नियन्त्रण गर्ने विषयमा चीनको क्षमता र त्यसको प्रभावकारीता अन्य देशहरूमा सहजै अनुकरण गर्न सकिँदैन।
यथार्थ चित्र के छ भन्ने विषयमा आधारित रहेर र ठ्याक्कै चाहेको के हो भन्ने कुरा बुझेपछि चीनलाई आवश्यक सहसोग गर्न सहज हुन्छ।
नेपालमा उक्त सङ्क्रमणबारे मेरो बुझाइको कुरा गर्ने हो भने नेपाल सरकारले राम्रै काम गरिरहे जस्तो मलाई लाग्छ। सङ्क्रमितको सङ्ख्या बढेको छैन। मलाई लाग्छ यो नियन्त्रणमै छ।




















