तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दशैं शुभकामनासहित चुनावमा सहभागी हुन आह्वान
दशैंको अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति, प्रधानमन्त्री तथा नेताहरुले आउने मंसिरमा हुने निर्वाचनमा उल्लासमय सहभागिताको आशा व्यक्त गरेका छन्।
उक्त निर्वाचनको सफलतासंगै देशले दिशा पक्रने उल्लेख गर्दै उनीहरुले आफ्नो परम्परागत दशैं सन्देशमा यसपाली चुनावकै विषयलाई मुख्य जोड दिएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको कार्यान्वयन अन्तिम चरणमा पुगेको, शान्ति प्रक्रिया लगभाग टुङ्गिएको र मुलुकमा बल्ल राजनीतिक स्थायित्व कायम भएको उल्लेख गरेका छन्।
सन्देश
शनिबार दशैंको टिकाको दिन राष्ट्रपति तथा विभिन्न राजनीतिक दलका नेताहरुको शुभकामनामा परम्परागत सुख, शान्ति र सम्वृद्धिको कामनाका अतिरिक्त मंसिरका निर्वाचनमा सहभागी हुन सर्वसाधारणलाई आग्रह गरिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले चुनावमा आफ्नो मताधिकार प्रयोग गर्न अग्रसर हुन सबैलाई आशीष मिल्नेमा जोड दिएकी छन्।
प्रधानमन्त्री देउवाले जननिर्वाचित सभाले बनाएको संविधान कार्यान्वयनको अन्तिम चरणमा पुगेको भन्दै अब राजनीतिक स्थायित्व कायम भएको उल्लेख गरेका छन्।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो शुभकामना सन्देशमा प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न भएपछि राजनीतिक संघर्ष मूलत: समाप्त हुने र आर्थिक विकासको चरणमा देश प्रवेश गर्ने बताएका छन्।
असन्तुष्टी
सबैजसो सन्देशमा निर्वाचन जोडिएका बेला निर्वाचनको मूल जिम्मा पाएको आयोगले आफूहरु चाडबाडका बेला पनि काममा खटिएको जनाएको छ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले आयोग दशैंको टिकाको दिनमात्र बन्द रहेको बताए।
उनले भने, "निर्वाचन आयोग प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको तयारीमा केन्द्रित छ। राजनीतिक दलहरुको सहयोगका लागि नवमी, दशमी र एकादशीका दिन बन्द भनेका छौं। तर यो समयमा पनि हाम्रा सहकर्मीहरु आ-आफ्नो जिम्मेवारीमा तल्लीन हुनुहुन्छ।"
दशैंको परम्परागत शुभकामना सन्देश व्यक्त गर्ने क्रममा पूर्व राजा ज्ञानेन्द्र शाहले केही असन्तुष्टी पनि पोखे।
उनले दूरगामी महत्वका राष्ट्रिय मुद्दाहरुको निरुपण जनमत मार्फत खोज्न हिच्किचाउनुलाई प्रजातन्त्र सम्मत व्यवहार भन्न मिल्छ कि मिल्दैन भन्ने अर्थपूर्ण प्रश्न गरेका छन्।